लोपोन्मुख अवस्थामा परम्परागत गुरुङ लामा संस्कार

Dhurba Bahadur Gurung |Jan 01 2023 | 2 years ago , 2 sec read| Gurung Sanskar| 1439 views|
लोपोन्मुख अवस्थामा परम्परागत गुरुङ लामा संस्कार

गण्डकी प्रदेशको अन्नपुर्ण हिमश्रृखलाको दक्षिणीभाग वरपर परापुर्वकालदेखि बसोबास गरि आएको गुरुङजातिकोे आफ्नै मौलिक भाषा, संस्कृति र धार्मिक पहिचान रहि आएको छ । यस जातिको उद्गम स्थलबारे यकिन नभएता पनि गुरुङ भाषा भोट बर्मेली भाषा अन्तर्गत पर्ने भएकाले शताब्दिऔ देखि उत्तरी हिमाली भेगको भोट वरपरबाट दक्षिणतर्फ फैलदै हालको कास्की र लम्जुङ जिल्लाको सिमाना क्होल सो प्रे ट्हो हुदै अन्तत गण्डकी प्रदेशभरि फैलिएको मान्न सकिन्छ । हाल गुरुङ जाति चरणवद्ध रुपमा देशैभर बसोवास गरि आएको पाईन्छ भने विदेशमा समेत यस जाति स्थाई रुपमा फैलिएको पाईन्छ । प्रारम्भमा उच्च हिमाली भाग र त्यसको वरिपरि वसोवास गरि आएका यस जाति मुख्य रुपमा पशुपालन र प्राकृतिक श्रोतमा बढि भरपर्न‘ु पर्ने हुनाले यस जातिको संस्कार संस्कृति र धर्म पनि त्यहि अनुरुप विकास भएको पाईन्छ । प्रत्यक्षरुपमा बनजंगल डाँडाकाँडा भिरपाखा खोलानाला छहरा हिमाल जस्ता प्राकृतिक श्रोत साधनसंग भरपर्नुपर्ने यसजातिले अन्तत यसै डाँडा भिरपाखा खोलानालालाई शक्तिको रुपमा पुजागरि पशुवलि दिने प्रथा अप्नाए जसलाई प्रकृतिवादी वा जीववादी वा वोनवादी भन्ने गरिन्छ । गुरुङ समाजमा खेगी पैडी र चोगीको भुमिका महत्वपुर्ण रहेको पाईन्छ । गुरुङ समाजमा प्रारम्भिक संस्कार संस्कृति हेर्ने हो भने पुरेत (खेगी) हावी भएको देखिदैन । यदि पुरेतको भुमिका नभै नहुने हुन्थ्यो भने गुरुङ जातिको जन्म संस्कार मावालीले नभै पुरेतले नै गर्ने गर्दथे । यसैक्रममा गुरुङ समाजमा कर्मकाण्ड गर्न जान्ने पच्यु (प च्हिव) पुरेतको छुट्टै ब्यवस्था गर्न थालियो । गुरुङ भाषामा मुखार पढन जान्नेलाई प च्हिव भनिन्छ । यी पच्युहरुले पढने पे शास्त्रमा गुरुङको पुरानो थातथलो डाँडाकाडा भीरपाखाहरु पुकार्दै त्यसवेला त्यहाँ दिवंगत आफना पच्यु पुर्खाहरुको नामउच्चारण गरि मृतकको आत्मलाई अन्तत पितृलोकमा पुरयाउने गरिन्छ । यसका अलवा गुरुङजातिमा क्हेव्री र लामा (लम) पुरेतको पनि धेरै अगाडी देखि ब्यवस्था भएको पाईन्छ । गुरुङ समाजमा प्रारम्भिक कालदेखि ब्यवस्था भएका यि तीनथरिका (खेगी) पुरेतहरु मध्ये पच्युले पे मा लखिएका कथाहरु मन्त्रका रुपमा कण्ठस्थ वाचन गर्दछन भने क्हेब्रिले आफनो पे मन्त्रमा मात्र नभई तन अर्थात तन्त्रका रुपमा मन र तनले अभ्यास गर्दछन । अकुशल क्रिया मन बाट हटाई ग्रह दशा स्वास्ति शान्तिको कृया गर्दै पंचतत्वका स्वरुप पंचबुद्ध टाउकोमा ह््िरङा लगार्ई कर्मकाण्ड गर्ने गर्दछन । यसका साथै गुरुङ जातिमा उच्च हिमाली भेग मुस्ताङ र मनाङबाट भोट लामा परम्परामा दीक्षित लामा पुरेतको पनि धरै लामो समय अघिदखि ब्यवस्था भएको पाईन्छ । पच्यु क्हेब्रि को पे पौराणिक कथा एवंम शास्त्र तमु भाषामा छन भने लामाको ग्रन्थ भोट भाषाको उमे लिपिमा लेखिएको पाईन्छ जस्मा भगवान बुद्धको उपदेश र दर्शन पाईन्छ । यिनै पच्यु क्हेब्रि र (लम) लामा संस्कृतिको संयोजनबाट तमु संस्कृति बनेको देखिन्छ । थागु मोगु पच्यु ल, थाक्यारावा कर्म गरेर गाँउको दोष भुत प्रेत मन्साउने काम पच्युले गर्दछ भने साँगु मोगु क्हेब्रि ल, था सो फालेर साँज वा साँदुई पुजा गरेर शुद्धशान्ति गर्ने काम क्हेव्रिले गर्दछ र छैखु हयोंखु लम ल, आयु साधना गरेर धन एश्र्वयको सह बटुल्ने काम लामाले गर्ने गर्दछ । यसरी आज हामीले भन्ने गरेको पच्युको पे, क्हेब्रीको पे र लमको पे लाई समग्रमा भन्ने हो भने तमुको पे अर्थात गुरुङको कर्मकाण्ड हो भन्न सकिन्छ । यसै सन्दर्भमा डा. हर्क गुरुङले गुरुङ संस्कृतिको बनावटलाई (नक फु) कुखुराको अण्डासंग तुलनागरि विचको पहेलो भागलाई पच्यु परम्परा, भित्रको सेतो भागलाई क्हेब्री परम्परा र बाहिरको सेतो बोक्रो भागलाई लामा परम्परा भनि ब्याख्या गर्नु भएको छ । परम्परागत गुरुङ लामाको ईतिहास गुरुङ जातिमा लामा खेगिको ब्यवस्था अन्नपुर्ण हिमश्रृखलाको दक्षिणपट्टि क्होल सो प्रे ट्हो मा आई विकास भएको हुनाले गुरुङ भाषा संस्कृति र धर्म अनुरुप त्यसवेलाका भलादमी मिग्रे चोगाद्धारा पच्युले यो गर्नु क्हेब्रीले यो गर्नु र लमले यो गर्नु भनि कार्यविभाजन गरिदिए अनुरुप गरिएको खेगि अनुरुपको कर्मकाण्ड लाई तत्कालिन (क्हयाल) राजाले पनि स्वीकृति दिएको र सोहि आज्ञा अनुरुप खेगिहरुले पनि आ आफनो कर्मकाण्ड गरि आएको मान्न सकिन्छ । प्रारम्भिक अवस्थामा गुरुङ जातिमा लामा विद्या भोट अर्थात मनाङमा गई सिकेर भित्रिएको मान्न सकिन्छ र पछि वसााई सराईको क्रममा गुरुङ वस्ति फैलने क्रममा पश्चिमतर्पm लागेका गुरुङहरुले मुस्ताङमा गई लामा विद्या सिकेको देखिन्छ । गुरुङ लामाहरुमा पहिलो पटक लामा विद्या सिकेका लामामा नचन खोर्लाे रिमरछेका माहिलो छोरो फैवाचनले मनाङको नार फु मा गई लामा विद्या सिकेको मानिन्छ । त्यहाँ गई सिकेको लामा विद्या क्होल सो प्रे टहो मा आए पछि भोट संस्कृतिलाई गुरुङ संस्कारमा ढालेको देखिन्छ । प्राज्ञ. डा. जगमान गुरुङको भनाई अनुसार त्यसवेला गुरुङहरु क्होल सो प्रे ट्हो मा आएर गुरुङ लामा र क्हेव्री वीच केहि विषयमा सहमति भएको बताउनु हुन्छ । त्यसमा वितेका कुरा वर्तमानका कुरा समेटेका कथाहरु को ताँ, स्यो ताँ, तेलवा ताँ तिंवे ताँ र के ताँ जस्ता पे हरु टु क्हेव्रीको पुर्खा ओनारे क्हेब्रीले गुरुङ भाषामा भन्ने र लामाको पुर्खा क्हेडुलामाले (सम्भवत पैकिलामाको पुर्खा हुनु पर्छ) उमे लिपीमा तिब्बति भाषामा लेखि तयार गरेको पे वाचन गर्ने गरे । यसरी तयार भएका पुरातन लामाहरुको पे लाई दु््ई किसिमको ठेलिमा संग्रह गरिएको पाईन्छ । यि दुई ठेलीहरु मध्ये पहिलो पे छ्योए अर्थात मृत्यु संस्कार सम्बन्धि अर्घु गर्दा पढने र दोश्रो त्हे छयोए महाकालपुजा, (फैलु) पुजागर्दा अर्थात ग्रहदशा शान्ति, सम्बृद्धिका पुजा गर्दा पढने गरिन्छ । यस किसिमको पुजागर्ने विधि त्हे छ््योए नार गुम्बाबाट ल्याएको मानिन्छ । नार परम्परामा (हिदम) इष्टदेवतामा पल ह्ेयसे गोन्पो छयाग श्री ज्ञान चतुरबाहु महाकालको पुजा गर्ने विधि प्रचलित थिए सोहि परम्परा नारमा गई दिक्षीत लामाहरुले ल्याएको मानिन्छ । यसरी गुरुङ लामाको सम्बन्ध तिब्बतको निङमा ङाग्पा लामा परम्परा संग सम्बन्धित भएको हुनाले यसमा पुरातनबादि लामाहरु गुरु रिन्पोछेलाई मान्ने र गृहस्थि भएर घरब्यवहार पनि सम्हाल्ने गर्दछन । यस प्रकारको लामाहरुलाई ङाग्पा लामा भन्ने गरिन्छ । यसरी क्होलमा आएर खेगिहरुले आपसमा कर्मकाण्डमा एउटा संग भएको चिज अर्काेले आँगली क्ह्ब्रीले गर्ने अर्घु विधि लामाले पनि गर्ने चलन बसेको हुदा क्हेब्री पच्युले पुजागर्दा सिल्दो नाल्दो पुकार्ने, कुल देवता पितृलाई पुजागर्ने जस्ता कर्मकाण्ड गरिसकेपछि क्हैडु लम प्ह्राला छे कह्ैडुलमको जय होस भनि फलाप्ने गर्दछन । यसबाट के बुभ्mन सकिन्छ भने यी तीन खेगिहरुमा त्यसवेला राम्रो सदभाव तथा समन्वय थियो । र त्यहाँको सम्बृद्ध संस्कृति अनुरुप क्होलर अचुव तमु तमु आँङी क्होलमा नसिकेको तमु तमु हैन, क्होलर वे खे अलव लम लम आँङी, क्होलको विधि नगर्ने लामा लामा नै हैन र क्होलर वे पे अखेव पच्यु क्हेब्री पच्यु क्हेब्री आँङी, क्होलको शास्त्र नपढेको पच्यु क्हेव्री पच्यु क्हेब्री नै हैन भन्ने गरिन्थो । यसरी क्होल राज्य स्थापित भए पछि लामाहरु विभिन्न स्थानमा फैलने क्रममा केहि शाखाहरुमा विभाजन भएको देखिन्छ । यसै सन्दर्भमा लमजुङ को नामपनि लम चु बाट लमजुङ भएको हो भन्ने गरिन्छ । लम चु को थरि लामाहरु क्हा्रेगि, म्हीगि, टहङगी, पैकिलामाहरु हुन । यस्ता लामाहरुमा ठाँउ अनुरुप (चिलि प,े पोजु पे) अर्थात सिक्लेसको पे र पोजुको पे मान्नेहरु भिन्न भिन्न देखिन्छन । यसमा मादिखोलातिर वरिपरिका लामाहरुले हिदम (ईष्टदेवता) पल ह्येसे गोन्पो छयाग मान्ने गरेको पाईन्छ भने र्मस्याङदी वरिपरिका लामाहरुले बज्रकिला अर्थात त्होर्जे फुर्व (हिदम) ईष्टदेवता मान्ने गरेको पाईन्छ । यो हिदम चाहि भोटको अति प्राचीन हिदम परम्परा मानिन्छ । त्यस्तै गोर्खा बरपाकतिरका लामाहरु पनि त्होर्जे फुर्व हिदम अर्थात बज्रकिला ईष्टदेवता मान्ने गर्दछन । आज उनिहरुले गर्ने कर्मकाण्ड पद्धति क्हेब्री पच्युसंग मेलखाने देखिने भएकाले उनिहरुलाई वोनलामा भन्ने पनि गरेको सुनिन्छ तर तिनिहरु वोनलामा नभई पुरातनबादी निङमा ङाग्पा लामाहरु मा वोन परम्पराको प्रभाव परेको मान्न सकिन्छ र यिनिहरुकोे गुरु घर नार मानिन्छ । यसैगरि पश्चिम हानिदै कास्की पर्वत स्याङजा सम्म फैलिएका गुरुङ लामाहरुले त्यसपछि गुरु शिक्षा लिन मनाङ टाढा हुने भएकाले त्यो भन्दा सजिलो र छोटो भोट पुग्ने बाटो कालीगण्डकीको तिरैतिर मुस्ताङ गई पछिल्लो समय शिक्षा दिक्षा लिन थाले । र तुलनात्मक रुपमा नार परम्पराका लामाहरु भन्दा मुस्ताङमा गई दिक्षालिएका लामाहरुमा बढि भोट पद्धतिको अभ्यास देखिन थाले । मुस्ताङ उपत्यका एउटा पुरानो सभ्यता बोकेको तत्कालिन प्रभावशाली राज्य हुनाले त्यहाँ हिजो तिब्बतमा बौद्धधर्म स्थापना पुर्व गुरु पदमासम्भवले मुस्ताङको बोनवादीहरुलाई वशमा पारेर लो ग्यागर गोन्पा बनाए पछिमात्र तिब्बतमा बौद्धधर्म स्थापना गर्न सफल भएका थिए । मुस्ताङ पुरानो निङमा परम्परा र बोनको आखडा भएको ठाँउमा गई शिक्षादिक्षा लिएका गुरुङलामाहरुका गुरुहरु प्राय तल्लो भेगका थकाली लामाहरु थिए । आजभन्दा करिब २४३ वर्ष अगाडी वि.स. १८३६मा पर्वतको आर्थर डाँडाखर्कमा साङङाक दोर्जे छ्योएलिङ गोन्पाको स्थापना भएको थियो । तत्कालिन डाँडाखर्कका पैकिलामाहरु लामा र्सक्याल, क्याल्वो साविर र वहाँका सन्ततीहरुले यस गुम्बाको स्थापना तथा संभार गरेका थिए । र अभैmपनि त्यहाँका लामाहरुमा मुस्ताङ किपरको गुरु डाँडाखर्कको चेला भन्ने भनाई रहेको पाईन्छ । र त्यहाँ बाट निस्केका लामाहरु पछि स्याङजाको कोल्मा, पोखरा, चितवान हुदै काठमाण्डौ सम्म फैलिएको पाईन्छ । त्यस्तै पर्वत जिल्लाका विभिन्न गुरुङ गाँउ हरु तथा घान्द्रुक लान्दुक आदि कास्की जिल्लाका विभिन्न गाँउहरुबाट गुरुङलामाहरु पनि मुस्ताङमा नै गई लामा विद्या सिकेको देखिन्छ । परम्परागत गुरुङ लामाको कर्मकाण्ड विधि गुरुङ परम्परागत लामाहरुले आफनो कर्मकाण्ड गर्दा पच्यु खेगिसंग मिलेर अर्घु गर्ने, अलँ ठडयाउने, ह्रितेव गर्ने (अस्तु देखाउने), प्ल रोव, थास्यो वाबा, च्यहु खु गर्ने, क्हो क्यु थु क्यु गर्ने, न्हम्से खुव सातो वोलाउने, रि च्हमी क्रसर गर्ने, आस्यो चाहिने आदि गुरुङ संस्कार अनुरुप आफनो कर्मकाण्ड गरेको देखिन्छ । भोट अक्षरमा पनि नभएको खोँजे (हृदय पुकार) लमहरुले पढने गर्दछन । यो पढदा लामा पच्यु क्हेब्री सवैको एकै सुनिन्छ । अर्घु गर्दा जग्गे थाल्दा घरभित्र गर्ने परम्परा लम्जुङ तर्फका लामाहरुले गर्दछन भने कास्की पर्वत स्याङजा तिरका लामाहरुले लामा बासमा छुटटै थालनी गर्ने गर्दछ । भोलीपल्टमात्र आँगनमा समेत गर्ने गर्दछ । त्यस्तै जग्गे भिक्तामा टाँसेर नगरी किलखोर बनाएर गर्ने, चारपाटे गर्ने, नौ तले गर्ने, न्हार सि ठो मान्ने गर्दछ । यसमा न्हार भनेको नरक शि भनेको शान्त र ठो भनेको रौद्र अर्थात अशान्त मुद्रका देवताहरु भन्ने बुझाउछ । यसमा प्रतिकात्मकरुपमा बाघ, मान्छे स्याल गिद्ध आदिको टाउको भएको १०८ पत्ताहरु टाँस्ने र चार दिशामा चार वटा थाङका टाँस्ने गरिन्छ । लामाहरुले पुर्वतिर आँङ फर्काएर जग्गे वसाल्ने र अगाडी पटि साङगे च्योम्देन्दे मारविजय भगवान बुद्धको थाङका टास्ने, उत्तरतर्फ गुरुरिम्पोछेको चित्र अंकित थाङका टाँस्ने गर्दछ । दक्षिण तर्फ देशे खोर्लाे सम्बर को थाङका टाँस्ने, पश्चिमतर्फ पल यशे गोन्पो छयाग चतुरवाहु महाँकालको थाङका टाँस्ने गर्दछ । यस्ता पितृकार्य अर्घु तीन दिनको हुने गर्दछ । पय चुव, पय पाँव, पय लिव गरि तीन दिनमा र्अघु सम्पन्न गर्ने गर्दछ । पहिलो दिनमा थालेर दोश्रो दिनमा आस्तु ल्याउने र तेश्रो दिनमा च्याङपर (क्हो, प्रतिक) बनाई नाम लेख्ने र प्ल भित्र र किलखोरभित्र हाल्ने गरिन्छ र तेश्रो दिनमा च्याङपर जलाई अर्घु सम्पन्न गर्ने गरिन्छ । हालमा गुरुङ परम्परागत लामाहरु मध्ये नार परम्पराबाट आएकाहरु लगभग लोप नै हुने अवस्थामा देखिन्छन । यिनिहरुमा विषेश गरि कृष्ण लामा, मेघ बहादुर लामा कास्की तप्राङ सिक्लेसतिरका लामाहरु तथा लम्जुङ, गोर्खा तिरका केहि लामाहरुका पुस्ता हुन । उनिहरुको पे उमे लिपिमा लिपिवद्ध भएको र सोहि अनुरुप पढने वाचन गर्ने गर्दथे भने आजभोली नेपालीमा उल्थागरि सोहिको प्रतिलिपि वाचन गर्ने गरेको पनि देखिन्छ । हिजो मुस्ताङ तिर गई शिक्षा दिक्षालिएका कास्की स्याङजा तथा पर्वततिरका लामाहरु नार परम्पराका भन्दा तुलनात्मक रुपमा बढि भोट बज्रयानी परम्परा अनुरुप आफनो कर्मकाण्ड विधिलाई परिमार्जन गरि सोहि अनुरुपको शिक्षा तथा सामाग्री प्रयोग गर्ने पे वाचन गर्ने गुरुङ परम्परागत लामाहरुमा पर्दछन । यि लामाहरुले र्अघुको कर्मकाण्ड गर्दा पच्यु खेगि पनि साथ साथै लिई गर्ने गरेको पाईन्छ । यसरी अर्घु गर्दा पनि अलँ ठडयाउने, ह्रितेव गर्ने (अस्तु देखाउने), प्ल रोव, थास्यो वाबा, च्यहु खु गर्ने, न्हम्से खुव सातो बोलाउने, रि च्हमी क्रसर गर्ने, आस्यो ज्वाँई चाहिने आदि गुरुङ संस्कार अनुरुप आफनो कर्मकाण्ड गरेको देखिन्छ । र लामाहरुले लामा बासमा मण्डल तयार गरि चारपाटे किलखोर बनाउने, गुरु रिन्पोछे, होपामे चेन्रसि र आ आफनो हिदमको थाङका झुण्डाउने र सुरुमा अष्टमंगलपाठ गर्ने क्याब्डो त्रिरत्न शरणगर्ने, बुद्ध आह्वान, पितृ अह्वान, साङसेरक्याम गरि सम्र्पुण नागनागिनी, सिमेभुमे, अष्टसेनारुपी देवताहरुलाई अह्वान गर्ने पुजा गर्ने जस्ता नित्य कृया गर्दछन । त्यसपछि गुरु रिन्पोछे पदमसम्भवको पुजा, सिठो पुजा, महाकाल, धर्मपाल ईष्टदेवता पुजा, पितृको पाप देशना पुजा, छोग पुजा गणचक्र पुजा, र वेला बेलामा भार्दाे (अन्तराभव अर्थात मृतकको अल्मलमा परेको चित्तलाई सहि दिशा लगाउने) पाठ गरि राती क्रोधी अथवा शान्तविधिमा च्यहु खु गर्ने (मृतकको सातो बोलाउने) गरिन्छ । यसै गरि क्रमगत रुपमा मृतकको पुन्यको लागि च्योय पुजा गरिन्छ यसमा आफनो शरिर समेत दान दिनेछु भन्ने प्रणीधान गरिन्छ । र आमन्त्रित पितृलाई बेला बेलामा भोजन दान गर्ने, सोल्देव पाठ गर्ने मनि मोन्लाम पाठ गर्ने, गुरु रिन्पोछेलाई, प्रेत आदिलाई (छोग) प्रसाद दान गर्ने, बेला बेलामा मृतकको नाममा भार्दाे पाठ गर्ने अन्तिम चरणमा ्च्याङपर जलाउने, आँगनमा रहेको प्ल को वरिपरि घुमेर बडो मिठो लयमा वार्दाे पाठ गर्ने र अन्तमा आँगनमा भएको प्ल उठाई त्यहाँ मृतकको हंस वा चित्तआशक्ति नरहोस भनि केहिबेर नाच्ने गर्दछ । अर्घुको अन्तिम दिन पश्चिमतिर अलं प्ल लगेर फोरेर टसी मोन्लम गरि सेलाउने अथवा समापन गरिन्छ । यो कृया गरिसकेपछि मृतकको नाममा छोरी ज्वाई चेलि, आस्यो, खेगिहरु आदिलाई दान दिई पुन्यनुमोदन गरि अन्तमा कर्ता परिवारको धन एश्र्वय सह बटुल्न याङखु पुजापाठ गरिन्छ । उपसंहार प्रारम्भिक गुरुङ समाज खेगी पैडी र चोगी (पुरेत, ज्योतिष र भलाद्मी) मिलि बनेको एउटा सम्बृद्ध समाज हो । गुरुङ भाषा संस्कृति र धर्म तत्कालिन भलादमी मिग्रे चोगाले कार्यविभाजन गरिदिए अनुरुप पच्यु, क्हेब्री र लामा खेगिहरुले आआफनो कर्मकाण्ड गरि सम्बृद्ध बनेको हो । प्रारम्भिक लामा विद्या मनाङको नार फुमा गई सिकेर भोट संस्कृतिलाई गुरुङ संस्कारमा ढालेको देखिन्छ । र वसाई सराईको क्रममा पश्चिमतर्पm लागेका गुरुङहरुले पछिल्लो क्रममा मुस्ताङमा गई लामा विद्या सिकेर भोट बौद्ध संस्कृतिलाई अलि बढि अंगिकार गरेको देखिन्छ । यहि क्रमले निरन्तरता पाउदा परम्परागत गुरुङ लामाहरुले हिजो आफुहरुले गरेका कर्मकाण्डमा समय संगै परिवर्तन गर्दै, गुरुङ संस्कार भन्दा गुरुङले मान्ने बौद्धधर्म तिब्बति बौद्धधर्मको नजिक भएकोले तिब्बतीे गुरुचेला प्रथाअनुरुप मान्दा गुरुङ संस्कार अनुशरणमा ह्रस आएको देखिन्छ भने अर्काेतिर उता गोर्खा लम्जुङ र मादी र्मस्याङदी वरपरका लामाहरु जो नारबाट दिक्षा लिएका थिए तिनिहरुमा पुस्तान्तरण हुन नसकी गुरुचेला प्रथा टुटन गएको र क्होलमा विकास भएको हिजोको पच्यु क्हेब्री संगै कर्मकाण्ड गर्दै हिडदा लामाहरुमा अद्यावधिक ज्ञान र सीप बिकास हुन नसकेको र आफुले पढने पे समेत राम्ररी ब्याख्या र सार बुझन नसक्दा क्हो क्यु थु क्यु जस्ता बलि प्रथा अभ्यास गर्दा बोन लम हो भन्ने आक्षेप खेपी रहेको अवस्था छ । तिब्बती बौद्ध परम्परामा यस्ता बलि प्रथा नभएका हैनन तर यो गलत अभ्यास हो भनि धेरै अगाडीनै यसलाई मानिसको क्रोधिचित्तको प्रतिक मानेर कर्मकाण्डमा तोर्मा (कैदु्) बनाई बलि दिने गर्दछ । यसरी यि हाम्रा थरि लामाहरु मध्ये एकथरि आफुलाई समयनुसार अद्यावधि पनि गर्न नसकेको, हिजोका आफनो उमे उम्जे शास्त्रिय लिपी र भाषा विकास र सम्र्बद्धन पनि गर्न नसकेको अवस्था देखिन्छ भने अर्काेपक्ष आधुनिक युगमा गोन्पा शिक्षाबाट ज्ञान हासिल गरि आफनो संस्कार संस्कृति भन्दा तिब्बती संस्कृतिको बढि मोह राख्दा हाम्रा अर्काथरि बोनवादी पच्यु र क्हेब्री खेगिहरुले यी गोन्पा शिक्षाका लामाहरुलाई तिब्बतीकरण गरयो भन्ने आक्षेप लगाई रहेका छन । यतिमात्र हैन हिजोआज बोन धर्मालम्बि हौ भनि हाम्रै बीच बुद्धको नामै लिन नचाहने केहि पक्षधरहरु पनि देखिन्छन । हिजो क्होल सो प्रे टहोमा हुँदा हाम्रा खेगिहरु वीच कति राम्रो सदभाव थियो तर आज यो सदभाव र सहिष्णुतामा विचलन आईरहेको स्पष्ट देखिन्छ । यसले गुरुङ एकतामा कहिल्यै टेवा पुरयाउदैन र कसैको भलो गर्दैन । कुनैपनि परम्परा धर्मको रुपमा स्थापित हुन त्यसमा आफनो मौलिक दर्शन, शील सदाचार र त्यसको प्रर्वतक हुनु पर्दछ । दर्शन बिनाको धर्मले मुक्ति दिलाउन सक्दैन । हिजोको क्होल सो प्रे टहोबाट बिकास भएको तमु (पे ल्हु) धर्म र संस्कृतिनै गुरुङ जातिको वास्तविक पहिचान हो त्यसैले लोपोन्मुख अवस्थामा रहेको परम्परागत गुरुङ लामाको धार्मिक तथा संस्कारिक पक्षको उत्थान र विकास गर्न अति अवश्याक देखिन्छ । यसै विषयलाई मध्य नजर राख्दै तमु बौद्ध सेवा समितिका केहि पदाधिकारी तथा देश विदेशका शुभचिन्तकहरु वीच कोरोना कहरको समयमा जुम सम्बाद गरि गुरुङ संस्कार र संस्कृतिमा आधारित बौद्धधर्म गुरुङबुद्धिजम विषयक प्रर्बद्धनात्मक अभियान सुरु गरिएको थियो । यसमा गुरुङ संस्कार र संस्कृति अनुरुप बौद्ध चाडपर्व देखि लामाले गर्ने मृत्यु संस्कार, लामाले गर्ने जीवन संस्कारमा कसरी बिबाह कर्म गर्ने देखि लिएर शिशुको बौद्ध नामाकरण गर्ने भन्ने बारे पैडि अर्थात ज्योतिषशास्त्रको भुमिका बारेमा गहन छलफल भएको थियो । गुरुङबुद्धिजम भन्ने नाम सुन्दा बुद्धधर्मलाई बृहत गर्नुको सट्टा जातियतामा सिमित गरिएको भन्ने आशय लाग्न सक्छ तर यो विलकुल हैन । यो गुरुङ जातिमा देखिएको विचलनबाट कोहि हिन्दु, ईसाई, बोन तथा कोहि बौद्धमा पनि यो र त्यो भन्ने प्रश्नले उब्जाएको विषय हो । यसले आफनो संस्कार र संस्कृतिमा आधारित बौद्ध धर्ममा अपनत्व ग्रहण गराउदछ । हिजो बौद्धधर्म श्रीलंका पुग्यो श्रीलंकन बौद्धधर्मको रुपमा चिनियो । काठमाण्डौ उपत्यकामा संस्कृत भाषामा प्रारम्भिक बज्रयानको रुपमा आईपुग्यो र नेवार बौद्धधर्मको नामले चिनियो र त्यहि प्रारम्भिक बज्रयान र महायान मिलेर तिब्बतमा तिब्बति लामा बौद्धधर्म बनेको छ र तिब्बती लामा बौद्धधर्मलाई आफनो पनामा ढालेर मानेको बौद्धधर्म नै गुरुङ बौद्धधर्म अर्थात गुरुङबुद्धिजम हो । यो नै सबै अटाउने थलो हो साझा चौतारी हो, महासुख हो, मध्यममार्ग हो, शुन्यता हो प्रज्ञोपाय हो । भवतुसर्वमंगलम् । सन्दर्भ सामाग्री १) गुरुङ जगमान, लामा बौद्ध धर्मको परिचय, गुम्बा विकास तथा ब्यवस्था समिती वि स २०५७ २) गुरुङ जगमान, तमु समाज र लामा बौद्ध धर्मः एक चर्चा तमु राष्ट्रिय समन्वय परिषद २०६० ३) गुरुङ र्ईन्द्र बहादुर तमुजातिको संस्कार र संस्कृति, तमु छया ल्हु ताँ २००८ ४) गुरुङ र्ईन्द्र बहादुर बोनधर्म र तमुहरु तमु संसार २०५९ ५) कोईराला कुलचन्द्र धर्म संस्कृति र परम्परा, कुलचन्द्र प्रतिष्ठान २०५० ६) त्रिपाठी रामशंकर, बौद्धदर्शन प्रस्थान, वनारस, केन्द्रिय उच्च तिब्बती संस्थान, १९९७ ७) पाण्डे गोविन्द चन्द्र, बौद्ध धर्मके विकासका ईतिहास, हिन्दी अनुवाद समिति लखनउ १९३६ ८) गुरुङ पुष्पबहादुर, बौद्ध दर्शनको विकासक्रम, बौद्ध दर्शन तथा प्रर्वद्धन गुम्बा विकास समिति, स्थानिय विकास मन्त्रालय, श्रीमहल ललितपुर, २०६७